नियम १०
वार्षिक अनुमानित आय व्यय विवरण तयार गर्ने र स्वीकृत गर्ने

(१) समितिले आगामी आर्थिक वर्षमा सञ्चालन गरिने कल्याणकारी कार्य, आयमूलक कार्य तथा कल्याणकारी योजनाको सम्बन्धमा प्राथमिकता तथा नीतिगत लक्ष्य निर्धारण गरी कल्याणकारी योजना निर्देशनालयलाई आवश्यक मार्गदर्शन उपलब्ध गराउनु पर्नेछ ।
(२) आवधिक योजनाको लक्ष्य, नीति र उपनियम (१) बमोजिम प्राप्त मार्गदर्शनलाई समेत ध्यानमा राखी प्रत्येक खर्च गर्ने निकायले गर्नु पर्ने काम, हासिल गर्ने लक्ष्य कार्यक्रम र आर्थिक स्रोत समेतलाई दृष्टिगत गरी आगामी वर्षको लागि कल्याणकारी कार्य, आयमूलक कार्य र कल्याणकारी योजनाको क्षेत्रगत र कार्यालयगत बजेट रकमको सीमा निर्धारण गरी खर्च गर्ने निकायलाई बजेट पेश गर्न कल्याणकारी
योजना निर्देशनालयले निर्देशन दिनेछ ।
(३) खर्च गर्ने निकायले कल्याणकारी योजना निर्देशनालयको निर्देशन बमोजिम आफ्नो उद्देश्य अनुरूपको कार्य सम्पादन गर्न लक्ष्य निर्धारण गरी सोको आधारमा आगामी वर्षमा सञ्चालन गर्ने कार्यक्रमको योजना, नयाँ योजना र थप कार्यक्रमको लागि बजेट तर्जुमा गरी प्रत्येक वर्षको वैशाख मसान्तभित्र कल्याणकारी योजना निर्देशनालयमा पठाई सक्नु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम बजेट तर्जुमा गर्दा सामान्यतया अघिल्लो वर्षको वास्तविक आयको नब्बे प्रतिशत ननाघ्ने गरी बजेट तर्जुमा गर्नु पर्नेछ ।
(५) उपनियम (३) बमोजिम वार्षिक कार्यक्रम तथा बजेट अनुमान प्राप्त भएपछि कल्याणकारी योजना निर्देशनालयले सोको पुष्ट्याई गर्ने आधार समेतको अध्ययन गरी आगामी वर्षमा सञ्चालन गरिने सम्पूर्ण कल्याणकारी कार्य, आयमूलक कार्य र कल्याणकारी योजनालाई समेटि सोको लागि आवश्यक पर्ने बजेट र सोको पुष्टि हुने आधार समेत खुलाई बजेट तयार पारी आषाढ पन्ध्र गतेसम्म स्वीकृतिको लागि समितिमा पेश गर्नु पर्नेछ ।
(६) उपनियम (५) बमोजिम पेश हुन आएको बजेट समितिबाट श्रावण पन्ध्र गतेभित्र स्वीकृत गर्नु पर्नेछ । बजेट स्वीकृत गर्न ढिलाई भएमा कल्याणकारी कार्य, आयमूलक कार्य र कल्याणकारी योजना सञ्चालनमा बाधा नपर्ने गरी प्रस्तावित बजेटको पच्चीस प्रतिशतसम्मको रकम खर्च गर्ने निकायलाई पेश्की स्वरूप प्रदान गर्न समितिले कल्याणकारी योजना निर्देशनालयलाई स्वीकृति दिन सक्नेछ र यसरी स्वीकृति प्राप्त गरी कल्याणकारी योजना निर्देशनालयले निकासा गरेको रकमकै परिधिभित्र रही खर्च गर्ने
निकायले खर्च गर्नु पर्नेछ ।
(७) समितिले बजेट तथा कार्यक्रम तयार गर्दा नेपाली सेनाका एकाईहरू र भुतपूर्व सैनिक सँगठन समेतसँग कार्यक्रम माग गर्न सक्नेछ ।